पर्यटन वर्षको स्वागतको तयारीमा देवघाट (फोटो फिचर सहित)

भानु खबर, तनहुँ –तनहूँको प्रसिद्ध धार्मिक तिर्थस्थल देवघाटधाम पर्यटन वर्ष २०२० को स्वागतमा जुटेको छ ।
देवघाटमा रहेका विभिन्न मठ मन्दिर, धर्मशाला, आश्रम र गुरुकुल तथा विभिन्न सांस्कृतिक सम्पदाहरु पर्यटकको स्वागतको पखाईमा रहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।

मुक्तिनाथको शिरबाट बगेर आएको कालीगन्डकी र गोसाईकुन्डबाट बगेर आएको त्रिशुलीको संगम देवघाटलाई विश्वका हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा विकास गर्ने गरि पर्यटन वर्षको अवसरमा पर्यटक लक्षित विभिन्न कार्यक्रम गरिने अध्यक्ष पौडेलले बताए ।


नेपाल आउने पर्यटक मध्ये ४० प्रतिशतलाई देवघाटमा भित्र्याउन सके यस क्षेत्रको विशिष्ट महत्वको बारेमा संसारभर प्रचार प्रसार हुने उनकोे अपेक्षा रहेको छ । पर्यटकको स्वागतको लागि देवघाटमा विभिन्न जनजातीका सांस्कृतिक कार्यक्रम, गुरुकुल, विद्यापिठ तथा आश्रमहरुको तर्फबाट साहित्यिक कार्यक्रम,त्रिशुली र कालीगन्डकी नदीमा जलविहार लगायतका कार्यक्रम सञ्चालन गरिने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणवावु घिमिरेले बताए ।


देवघाटमा महाशिवरात्री, माघे संक्रान्ती जस्ता ठुला पर्वमा पाँच लाख भन्दा बढि आन्तरिक पर्यटक र भक्तजनको आगमन हुने भन्दै अव बाह्य पर्यटकलाई देवघाटमा भित्र्याउने तयारी गरिएको उनले बताए ।


त्यसैकोलागि समितिका पदाधिकारीहरुले गत महिना भारतको विभिन्न भागको भ्रमणगरि देवघाटको महत्व र महिमाको जानकारी गराईएको घिमिरेले बताए ।

देवघाट स्थित हरिहर सन्यास आश्रमका पिठाधिस एवं नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष ज्ञानानन्द सरस्वतीजी महाराजले देवघाटको महिमा ठूलो रहेको भन्दै यहाँ करिब ५ सय ५० वर्ष पहिले चक्रवर्ती राजा मणिमुकुन्देशवरले ध्यान गरेको बताए ।

देवघाटमा रहेका विभिन्न मठमन्दिर र गुफाहरुले यहाँ देवताहरुको बास रहेको पुष्टि हुने भन्दै
उनले कालीगन्डकीको तिरमा पाईने शालीग्राम विश्वमा अन्यत्र कहीँ नपाईने बताए । देवघाटको चक्रवर्ती मन्दिरमा रहेको ॐ लेखिएको चक्रेश्वर शिला विश्वमै एक मात्र रहेको दावी गर्दै उनले त्यसको उचित प्रसार प्रसार हुन सकेमा देवघाटको अन्तराष्ट्रिय ख्याती हुने बताए ।


देवघाटको महिमाको चर्चा गर्दा करिव पाँच सय वर्षअघि त्रिशुली र कालीगन्डकीको संगम बेणीमा एक माझीले चक्रैचक्र भएको एक कुर्म (कछुवा) शालीग्राम शिला फेरा पारे, जुन देवता र दानवद्वारा अमृत प्राप्तिका लागि समुन्द्र मन्थन गर्दा मदानीका रुपमा रहेको मन्दराचल पर्वतलाई डुब्नबाट
बचाउन भगवान विष्णुबाट कुर्म (कछुवा) रुप धारण गरिएको थियो, त्यहि कछुवा आकारको शालिग्राम नै यही शिला भएको र उक्त शिलालाई भगवान विष्णुको प्रतीक मानिने ज्ञानानन्द सरस्वतीजी महाराजले बताए ।


उक्त शिलामा भगवान विष्णुको प्रतीक शङ्ख, चक्र, वनमाला आदि सबै रहेको उक्त शिला गलेश्वर
वावाले मन्दिर बनाई स्थापना गर्नु भएको उनले जानकारी दिए । कुर्म अवतार विष्णुको मत्स्य अवतार पछिको अवतार भएको र र कुर्म पुराण अठ्ठार पुराण मध्येको १५ औ पुराण भन्दै उहाँले यसले पनि देवघाटको महत्व र महिमा ठुलो रहेको बताए ।


देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाटलाई हिन्दुहरुको पवित्र भुमी र आस्थाको प्रतिकको रुपमा विकास गर्न संघीय सरकारसँग हातेमालो गरि काम गरिने बताउनु भयो । मुग्लिङ–नारयणगढ खण्डको दासढुङ्गाबाट ६ किलोमिटर सडक हुँदै सवारी साधनमा र चितवनको नारयणगढ नजिकैको आपटारीबाट तिन किलोमिटर यात्रामा सवारी साधन हुँदै त्रिशुली नदीको झोलुङ्गे पुल तरेरसजिलैसँग देवघाट पुग्न सकिने भन्दै अध्यक्ष थापाले पर्यटकको सुरक्षाकोलागि सुरक्षा व्यवस्था पनि प्रभावकारी बनाईएको बताए ।


पर्यटकको सुरक्षाकोलागि विभिन्न स्थानमा सिसि क्यामेराको जडान सहित मुख्य स्थानमा २४ सै घन्टा प्रहरीको गस्ती हुने उनले जानकारी दिए ।– प्रकाशचन्द्र भटराई