५ नम्बरलाई वडा क्रिकेटको उपाधि

भानु खबर, नेपालगन्ज, माघ / वडा नम्बर ५ ले युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार मंगलप्रसाद उच्च माविको खेल मैदानमा ५ नम्बर वडाले ८ नम्बर वडालाई ३ रनले पराजित गर्दै उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको ५ नम्बर वडाले २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४९ रन बनाएको थियो ।
जसमा कप्तानमा सुबेन्दु पाण्डेले सर्वाधिक ३४ रन, हसन खानले २२ रन र रितेश शाहले २१ रन जोडे । ८ नम्बरका दिनेश केवटले २ विकेट, अफक शेष र जानु कसगरले समान १ विकेट लिएका थिए ।
जवाफमा ८ नम्बरले निर्धारित २० ओभर खेलेर १ सय ४७ रन मात्र बनाउन सक्यो । टोलीका लागि अनुपम सिहले सर्वाधिक ५१ रन बनाए । अनुपमले ३७ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । फर्दि खानले २७ रन र अफाक शेखले २४ रन जोडेका थिए । ५ नम्बरका वलर हसन खाँनले २ विकेट, अनिमेश शाही र मेराज अन्सारीले समान १ विकेट लिएका थिए । खेलमा ५ नम्बरका वलर हसन खान म्यान अफ द फाइनल र अनिमेश शाहीले म्याजिकल मुभमेन्टको पुरस्कार जिते । जितसँगै विजेता ५ नम्बरले २ लाख, उपविजेता ८ नम्बरले १ लाख रुपैया पुरस्कार, ट्रफी जितेको छ ।