रमेश ढकाल

झापाको सदरमुकाम चन्द्रगढी (भद्रपुर–८) मा स्थित महेन्द्र पार्कमा पूर्व राजा महेन्द्र शाहको सालिकलाई पुनः स्थापना गर्ने कुरा अहिले त्यहाँको स्थानीय स्तरमा निक्कै नै चर्चाको विषय बनेको देखिन्छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजालमा आएका प्रतिकृयाहरुलाई हेर्ने हो भने अहिले एउटा पक्ष कुनै पनि हालतमा उक्त सालिक पुनः स्थापना हुनु पर्छ भनेर लागि परेको छ । त्यसै गरेर अर्को एउटा पक्ष भने निरङ्कुश भनेर भत्काइएका राजाहरुको सालिक पुनः स्थापना गर्नुको कुनै औचित्य छैन र यो काम कुनै पनि हालतमा सफल हुनुहुँदैन भनेर लागि परेको देखिन्छ । यस्तैमा अर्को एउटा तेश्रो पक्ष पनि छ, जुन पक्ष भने राजतन्त्र भलै मासियो तर हाम्रो देशको इतिहासको प्रतीक स्वरुप यस्ता सालिकहरु भत्काउने हैन, यीनको संरक्षण गरिनु पर्छ तर यसो गर्दै गर्दा यो कसैको हार–जितको मुद्धा बन्नु हुँदैन । यो काम परस्पर सहमति र समझदारीमा गरिनु पर्छ भन्ने कुरामा जोड दिदै गरेको देखिन्छ । र यो तेश्रो पक्षको विचार संग यो पङ्तिकार पनि सहमत छ ।

खैर, अहिले महेन्द्र पार्कमा पूर्व राजा महेन्द्र शाहको सालिकलाई पुनः स्थापना गर्ने विषयमा जुन विवादको सिर्जना भएको छ, यो विवादले मलाई म सानै हुँदाको को एउटा घटना याद दिलायो ।

मेरो सम्झनामा आएअनुसार, २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यका लागि निर्वाचन हुँदै गर्दा झापा बाट अन्य उम्मेदवारहरु संगै जनपक्षीय उम्मेदवारका रुपमा द्रोणाचार्य क्षेत्रीले चुनावमा भाग लिएका थिए । त्यसैक्रममा उनको एउटा चुनावी सभा भने त्यतिबेला हामीले अध्ययन गर्ने स्कुल जन जागृति मा.वि. गोल्धापको प्राङ्गणमा आयोजना गरिएको थियो । उक्त सभामा भाषण गर्ने क्रममा जब द्रोणाचार्य क्षेत्रीको भाषण गर्ने पालो आयो, त्यतिखेर पञ्चायत समर्थक केही हाम्रै गाउँले दाइहरु आएर उनको इच्छा विरुद्ध उनलाई जबरजस्ती अथवा बलपुर्वक ढंगले राजाको जय जयकार गर्न लगाए । जसले गर्दा त्यो आमसभा नै भाडियो । त्यतिबेला द्रोणाचार्य क्षेत्रीले उनका कुरा सुन्न त्यहाँ भेला भएका आमजनता सामु आफ्ना कुरा राख्न सम्म पनि पाएनन् । त्यतिखेर राजाको पञ्चायती शासन थियो । त्यस्तो अवस्थामा पञ्चायतका समर्थकहरुको खिलाफमा बोल्ने हिम्मत हत्तपत्त कसैले गर्न सक्दैनथ्यो अर्थात उबेला पञ्चायत समर्थकहरुले जे भन्यो त्यही मान्नु पर्ने एउटा बाध्यता नै थियो ।

खैर, द्रोणाचार्य क्षेत्रीलाई भाषण गर्न रोके पनि, त्यतिखेर उनको चुनाव चिन्ह घैलामा मतदान गर्ने आमजनताका हातहरुलाई पञ्चायत समर्थक कसैले पनि रोक्न सकेनन् नत त्यतिबेलाको पञ्चायती शासनले नै रोक्न सक्यो । अन्ततः पञ्चायतकालीन कठोर समयमा पनि कम्युनिस्ट उम्मेदवार बनेर अथवा जनपक्षीय उम्मेदवारका रुपमा झापाबाट राष्ट्रिय पञ्चायत सदस्यमा द्रोणाचार्य क्षेत्रीले शानदार रुपमा विजय हासिल गरेका थिए । उनी सादा जीवन उच्च विचारका उदाहरणीय नेता मानिन्थे ।

मैले आज आएर यो कुराको सम्झना किन गरेको हुँ भने, यदि त्यतिबेला अथवा पञ्चायती कालमा जनताका छोराछोरीहरुलाई राजाहरुको जय जयकार गर्न बाध्य पारिएको थिएन भने सम्भवतः नेपाल राष्ट्रको अभिभावकीय भूमिका बाट राजाहरुले आज हट्नु पर्ने थिएन होला । यो कुराले के स्पष्ट पार्छ भने, जबरजस्ती वा बलपुर्वक हासिल गरिएका कुनै पनि कुराहरु लामो समय सम्म टिक्न सक्दैनन् । यसैले गर्दा आज गणतन्त्र तथा धर्मनिरपेक्षताको विरोध गर्नेहरुको आवाज पनि देशमा निक्कै बलियो हुनथालेको हामी सबैले देख्दै आएका छौँ । र यो कुरालाई हामीले कम आँक्ने अथवा अवमुल्यन गर्ने गलती गर्नु शायद ठीक नहोला ।

हिजो एउटा पक्ष बलियो हुँदा राजाका सालिकहरु भात्काइयो । आज अर्को पक्ष अलिक बलियो हुँदा तीनै भत्काइएका सालिकहरुलाई पुनः स्थापना गर्न खोजिदै छ । कदाचित् आज पुनः स्थापना गर्ने पक्ष भोली अलिक कमजोर पर्यो भने, आज पुनः स्थापना गरिएका सालिकहरु भोली फेरि भत्किदैनन् भन्ने कुराको ग्यारेन्टी के छ ? त्यसैले गर्दा यस्ता विषयसंग जोडीएका कुराहरुका बारेमा कुनै पनि निर्णय गर्दा परस्पर सहमति र समझदारीमा गर्न सकियो भने त्यो कुरा सदाका लागि टिक्न सक्छ । अन्यथा यो भात्काउने र पुनः स्थापना गर्ने सिलसिलाको अन्त्य असम्भव छ ।

अन्त्यमा एउटा कुरा यहाँ पुनः दोहोर्याउन चाहन्छु, त्यो के भने राजतन्त्र भलै मासियो तर हाम्रो देशको इतिहासको एउटा प्रतीकका रुपमा रहेका राजाका सालिकहरुलाई भत्काउने हैन, बरु यीनहरुको संरक्षण नै गरौँ । तर यसो गर्दै गर्दा यो विषय कुनै अमुक राजनीतिक दल वा समुहको हार–जितको मुद्धा भने बन्नु हुँदैन । यस्ता कार्यहरु परस्पर सहमति र समझदारीमा गरिनु नै उपयुक्त हुन्छ । बाँकी कुरा तपाईं राजनीति गर्नेहरुमा नै निर्भर गर्दछ ।


भद्रपुर–झापा (हाल दोहा–कतार)
dhakalrp@gmail.com

अन्तिम पटक अध्यावधिक गरिएको 56 Viewed

प्रतिक्रिया दिनुहोस्