स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

तनहुँ बन्दीपुर – तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ ।

दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएपछि उक्त स्वास्थ्यचौकीमा कर्मचारीको अभाव भएको हो ।

स्वास्थ्यचौकीका प्रमुखले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको र दैनिक १५ देखि २० सर्वसाधारण उपचार सेवा लिन आउने स्वास्थ्यचौकीमा आफु र एक कार्यालय सहायक मात्र कार्यरत रहेको बताएका छन ।

आफू एक्लैले कार्यालयको प्रशासनिक काम, बिरामीको स्वास्थ्य परीक्षण र औषधि वितरणको काम गर्नुपरेको अहेव धर्मराज बढुले बताए । उनले थपे “एक्लैले सबै काम गर्नुपर्दा कठिनाइ भइरहेको छ जसकारण सबै बिरामीलाई सेवा दिन सकिएको छैन ।”

बिरामीको स्वास्थ्य परीक्षण गर्ने अहेव र स्वास्थ्य सहायक नै नभएपछि सेवा लिन आउने सबै सर्वसाधारणलाई सेवा दिन नसकिएको उनको गुनासो छ ।