सिताराम थापा 

आज तिम्रो घरमा आशुको भल बगिरहेको छ ।
बगायो नियतीले तिम्रो सिन्दुर ,
रित्यायो भाग्यले तिम्रो कोख

लुट्यो एकै प्रहारमा सबै खुशिहरु
मनोहर खोलाको भेलले बगाए जसरी ।
म वल्लो घरको छतमा बसेर
नियाली रहेछ तिम्रा बगेका आशुका भल ,
नापीरहेछु तिम्रा अवरुद्द गलाको आयातन ,
हेरिरहेछु आशु ओकलिरहेका तिम्रा टुहुरा आखाहरु
र मुस्कान लुटिएका जोडि ओठहरु ,
तिम्रा हर चित्कारले मेरो मन कोपरिरहेको छ ,
तिमीले उता आशुले आँखा भिजायौ
यता सम्बेदनाले मैले मुटु भिजाए
तिमी सम्झी सम्झी रोयौ ,
फलाक्दै फलाक्दै रोयौ ,
म रुदै रुदै सम्झिए ,
तिमी सङ सम्झन बाकी केही रहेन
म सङ बिर्सन सक्ने केही रहेन ।।
न तिमी सङै गर्लम्म अगालेर ,
तिम्रो पीडा बाडिने गरि रुन आउन सके ,
न तिमीलाई नजिकै छुन आउन सके ।
बस
केवल निरीह बनेर ,
हेरे कौशीबाट तिम्रो भावबिहोल पागलपन
सुने तिम्रो कारुणिक चीत्कार ,
र बजारे आफ्नै टाउको भित्तामाथी
हे भगवान ,
यो कस्तो निर्दयी समय हो
कस्तो निस्ठुरी परिवेश हो यो ,
घरको भित्ता जोडिएको छ,
मनको कित्ता जोडिएको छ ,
तापनी जोडिए जस्तो कहि कतै केही देखिएन,
छिमेकि भएर केही गर्न सकिदैन
सकिने कुरा पनि गर्न मिल्दैन ,
कुनै बेला ,
एक बटुकी तिहुन बाडेर खायौं ,
दुई पात साग बाडेर खायौ ,
एउटा रोटिको ठुन्को बाडेर खायौं ,
सिङ्गो खुर्सानीको ढेडि भाचेर खायौं ,
वल्लो पल्लो छतमा बसेर एउटै घाम बाडेर ताप्यौ ,
एउटै बादलले दुबै जना बाडेर ओस्सियौ ,
भुकम्पका बेला चिच्याउदै घरबाट सङै निस्क्यौ,
आलुबारीका खस्रा ड्याङगमा
कुर्कुच्चाको सिरानी हालेर कयौं
त्रसित कम्पित रात बितायौ ,
च्यातिएको एउटै त्रीपालको आधा पानीले म भिजे ,
आधा पानीले तिमी भिज्यौ ,
एउटा घरबाट भात तिम्ले बोक्यौ ,
अर्को घरबाट तिहुन मैले बोके ,
सङै डरायौ , सङै करायौ ।
बिहाका कसार सङै बाडेर खायौ ,
पुजाका प्रसाद सङै चुडेर खायौ ,
सङै बसेर पिँडालु तास्यौ ,
सङै बसेर मस्यौरा पार्यौ ,
एउटै नाङ्लोमा गावा सुकायौ ,
एउटै ताइमा सेल पकायौ ,
मन्दिर सङै गयौं ,
बजार सङै गयौं ,
न कहिल्यै तेरो भन्यौं ,
न कहिल्यै मेरो भन्यौं ,
न तिमिले मलाइ कहिल्यै पर बस भन्यौ
न मैले तिमिलाइ कहिल्यै उता सर भने
तर आज
तिम्रो घरमा आशुको भल बग्दा
म निरिह भएर कौसिको बारमा टाउको अड्याएर ,
तिम्रो चीत्कार सुनिरहन परेको छ ।
न तिमिले यता आइज भन्न सक्छ्यौ
न म उता जान्छु भनेर जान सक्छु ।
यस्तो निरीह छिमेकी हुनु पनि
के छिमेकी हुनु ?
आन्टी ! माफ गर ,
आज बल्ल थाहा पाए ,
छिमेकी हुनु भनेको
मर्दाको मलामी – जिउदाको जन्ती हैन रहेछ ।

धन्यवाद ।

हाल :काठमान्डौ ।
24th May 2021

अन्तिम पटक अध्यावधिक गरिएको 255 Viewed

प्रतिक्रिया दिनुहोस्