दमौली ।
तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो ।

प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेर कार्य शुरुआत गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ ।

सो कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।“प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेका छाँै, अब कामलाई तीव्रता दिन्छौँ”, घिमिरेले भने । उनका अनुसार प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनको काम केही अगाडि नै शुरु गर्ने लक्ष्य राखिएको भए पनि कोभिड–१९ को प्रभावका कारण काममा ढिलाइ भएको घिमिरेले जानकारी दिए ।


प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । घिमिरेका अनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक टावरहरू भारतीय सिमानामा आइसकेको छ । हिउँदको समय शुरु भएकाले काम गर्न सहज हुने विश्वास लिइएको घिमिरेले जानकारी दिए ।
प्रसारण लाइन निर्माणका लागि तनहुँतर्फको भागमा सात हजार ९२३ वटा रूख काट्नुपर्ने र चितवनतर्फको भागको पनि अध्ययन भइरहेको घिमिरेले जानकारी दिए । आयोजनाको प्याकेज दुईअन्तर्गतको विद्युत् गृहको पनि काम भइरहेको छ ।


उनका अनुसार ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ।।।केवल टनेल’को काम पूरा भएसँगै पावर हाउसको काम शुरु गरिएको छ । विद्युत् गृह निर्माणका लागि १८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो । आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि केवल टनेल’ खन्ने काम शुरु गरेको थियो ।

सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।
-मध्यान्ह

अन्तिम पटक अध्यावधिक गरिएको 116 Viewed

प्रतिक्रिया दिनुहोस्