तनहुँको शुक्लागण्डकी १२,फिरफिरेमा यस बर्ष पनि ल्होसार पर्व भव्य रुपमा मनाइने भएको छ ।गुरुङ समुदायको बाक्लो बसोबास रहेको फिरफिरेमा गत बर्ष जस्तै सामुहिक भोजन,विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम गरी ल्होसार मनाउने तयारी गरिएको हो ।ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यसहित वडा कार्यालयको आयोजनामा कार्यक्रम गर्न लागिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए ।
गत बर्ष पनि नेपाल भ्रमण बर्ष सन् २०२० लाई लक्षित गरी ल्होसारमा भव्य कार्यक्रम गरिएको थियो । वडाले ’जाऔँ है फिरफिरे’ अभियान नै चलाएको थियो । तर कोरोना भाइरस (कोभिड(१९) को कारणले गर्दा पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार अभियान स्थगित भएको थियो । अहिले कोरानाका कारण थला परेको पर्यटन क्षेत्र बिस्तारै जुर्मुराउन थालेको छ । मान्छेहरु घुम्न निस्कने क्रम बढ्दै गएको छ ।यस क्षेत्रमा पनि पर्यटक आकर्षण बढाउन यो कार्यक्रमले सहयोग पुग्ने वडाध्यक्ष गुरुङ बताउँछन् ।कार्यक्रम अन्र्तगत खेलकुदतर्फका मुख्य आकर्षणमा ढिडो खाने प्रतियोगिता,महिला तथा पुरुष डोरी तान्ने,घैटो फुटाउने ,छेलो हान्ने तथा गाउँस्तरीय भलिबल प्रतियोगिता रहेको छ ।
त्यस्तै फिरफिरेमा रहेका गुरुङ गाउँहरुलाई आठ समुहमा विभाजन गरेर प्रत्येक समुहलाई रोटी,बटुक,बिरम्ला लगायत ८ प्रकारका फरक(फरक परिकार बनाउन लगाउने र सामुहिक भोजको आयोजना गर्ने वडाध्यक्ष गुरुङ बताउँछन् ।उनका अनुसार गुरुङ समुदायमा प्रचलित ८ गाउँका सोरठी,घाटु,सालैजो,ठाडो भाका,कौराहा भाकाहरु समेत प्रस्तुत गरिने छ ।
यसरी वडाभरिका गुरुङहरुलाई एकै ठाँउमा भेला गराएर ल्होसार मनाउदाँ आपसी मेलमिलाप,सद्धभाव एवं एकता कायम हुने र संस्कृति संरक्षणमा समेत टेवा पुग्ने वडाध्यक्ष गुरुङको भनाई छ ।उनले कार्यक्रममा सहभागिताका लागि सवैलाई चुलै निम्तो दिएका छन् । ग्रामिण पर्यटनको प्रचुर सम्भावना बोकेको वडा नं(१२ का विभिन्न गाउँमा होमस्टे पनि संचालनमा छन् । गुरुङको इतिहास तथा संस्कृति ,रहनसहन बुझ्न अध्ययन गर्न तथा अनुपम प्राकृतिक सुन्दरतामा रमाउन फिरफिरेको यात्रा गर्न सकिन्छ ।त्यहाँबाट देखिने सुन्दर हिमश्रङ्खला,हरियाली वनजंगल, अदभुत मिलेनियम गुफा मुख्य आकर्षणको केन्द्र हुन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 71 Viewed

प्रतिक्रिया दिनुहोस्